यस्तो निर्णय गर्दै सिट बाँडफाँटमा समितिको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
3.5K
SHARES

१८ भदौ काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रूप पाउने उनले बताए । दुई दिनमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने कार्कीको भनाइ छ ।

उनले गठबन्धनले गरेको निर्णयलाई जनताले अनुमोदन गर्ने र निर्वाचनपछि मुलुक अर्को चरणमा प्रवेश गर्ने जिकिर गरे ।

सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो दाबीबाट पछि नहट्दा सिट बाँडफाँटको विषयमा सहमति जुट्न सकेको छैन ।