गठबन्धनको भविष्यमाथि प्रश्न उठ्यो – अध्यक्ष नेपाल
२१ भदौ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।
अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।
अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामर्थ्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । भने, “अब काठमाडौं र सदरमुकाममा बस्ने होइन । अब बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन ।” अध्यक्ष नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए ।