सिट बाँडफाँट कार्यदलको प्रतिवेदन तयार
२२ भदौ काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । आज बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनको अन्तिम रूप भने भोलि बिहान ९ बजे बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार भोलि नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाइनेछ । “आज हामीले पाएको जिम्मेवारी अनुसार प्रतिवेदन तयार पारेका छौँ । भोलि बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ । भोलि नै शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउँछौँ,” उनले भने । तर, सिट संख्याबारे भने उनले जानकारी दिन मानेनन् ।