चिनियाँ वरिष्ठ नेता ली राजनैतिक भेटघाटमा व्यस्त
२८ भदौ काठमाडौं । राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङपछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कंग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चान्शु मंगलबार पनि राजनैतिक भेटघाटमा व्यस्त हुने भएका छन्।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आएका हुन्। साेमबार नै काठमाडाैँ ओर्लिएका अध्यक्ष लीले हिजै सभामुख सापकोटासँग वार्ता गरेका थिए। हिजाे नै सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
आज अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दैछन्। उनले आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।
भाेलि बुधबार अपराह्न साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन्। लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गर्नेछन्। ली तीनदिने यात्राका लागि नेपाल आएका हुन्। ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन्।
विगत ६ महिनाको अवधिमा चिनिया विदेशमन्त्री वाङ यी र पार्टी विदेश विभाग प्रमुख लीउ जियानछाओ पछि भएकाे यो उच्चतहको यात्राले चीनको नेपाल प्रतिको बढ्दो चासो र चिन्ताको संकेत भएको कुटनीतिज्ञहरू बताउँछन्।