सिट बाँडफाँट टुंग्याउन सत्तारुढ शीर्ष नेताहरू छलफलमा
४ असोज काठमाडौं । समानुपातिकतर्फको बन्दसूची पेस गरेपछि सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंगो लगाउन छलफलमा जुटेका छन् । आज बिहान बालुवाटारमा भएको छलफलमा सामान्य कुराकानी भएको र बेलुकी ४ बजे पुनः छलफल गरिने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
त्यस्तै, राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे के गर्ने भन्नेबारे पनि सामान्य छलफल भएको उनको भनाइ छ । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयकको आज १५ दिन पुगेको छ । “राष्ट्रपतिले आज राति १२ बजेसम्म गर्नुपर्ने समय छ । त्यो समयपछि के हुन्छ ? त्यसपछि के गर्ने भन्ने छलफल गर्ने भन्ने भएको छ,” उनले भने ।