हामी राष्ट्रपतिका कदमबारे कुनै टिप्पणी गर्दैनौं – उपमहासचिव रिमाल
५ असोज काठमाडौं ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नागरिकता विधेयकबारे राष्ट्रपतिको कदमबारे आफूहरूले कुनै टिप्पणी नगर्ने बताएका छन्। संसदको दुवै सदनबाट दोस्रो पटक पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनका दलहरूले विरोध गरिरहेका छन्। तर एमालेले भने यसबारे खासै प्रतिक्रिया दिएको छैन। उपमहासचिव रिमाललाई राष्ट्रपतिका कदमबारे प्रतिक्रिया लिँदा उनले यसमा कुनै टिप्पणी नगर्ने बताए। ‘राष्ट्रपतिका काम, कदमबारे हामी कुनै टिप्पणी गर्दैनौं। कुनै पनि संस्थाको गरिमा ख्याल गर्नुपर्छ,’ उनले भने।