संविधानको संरक्षकलाई दायरा नाघ्ने छुट छैन – उपराष्ट्रपति


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
2.6K
SHARES

५ असोज काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो ‘कदम’को आलोचना गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी उनले ‘राष्ट्रपतिबाटै संवैधानिक दायरा नाघिनुलाई दुःखद’ भनेका हुन् ।

“संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधानबमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,” उपराष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ, “पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।”

उनले संविधानको पालकलाई संविधानको दायरा नाघ्ने छुट नभएको बताएका छन् । “संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट छैन,” उनले भनेका छन्, “संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।” नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध विज्ञप्तिमार्फत बोलेका उनले सिधै राष्ट्रपतिलाई भने सम्बोधन गरेका छैनन् ।