राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिन्छ – अध्यक्ष नेपाल
५ असोज काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले गम्भीर संवैधानिक संकट निम्त्याएको बताएका छन्।
बुधबार पार्टी निकट युवा संघको कार्यक्रममा उनले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले नराम्रो नजिर बनाएको आरोप लगाए। राष्ट्रपतिले अहिले संविधान नै उल्लंघन गरेका कारण भविष्यमा पनि कानुन उल्लंघन गर्ने सम्भावना देखिएको तर्क उनले गरे। नेपालले राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने पनि बताए।
‘संविधान मिच्ने काम भएपछि आंशका खडा भएको छ। आशंकालाई निवारण गर्ने काम कि राष्ट्रपति स्वयंले गर्न पर्यो। होइन भने यसले सम्बन्धमा असर पार्छ,’ उनले भने, ‘यो कदम चालेर राम्रो भएन। राम्रो नजिर बसेन। त्यसो भएको हुनाले हामीले कानुनी उपचारको उपाय खोजिन्छ।’