एमाले–जसपा सहमतिनजिक
२१ असोज काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) मंसिर ४ गतेको संसदीय निर्वाचनमा तालमेल गरी अघि बढ्न सहमतिनजिक पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आजै अन्तिमपटक छलफल गरेपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको नेताहरूले पुष्टि गरेका छन् ।
एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादव स्वयम्को सक्रियतामा संवाद अघि बढेको हो । ओलीलाई एमाले उपमहासचिव विष्णु रिमाल र सचिव रघुवीर महासेठले सहयोग गरिरहेका छन् ।
अध्यक्ष ओली स्वयम् तालमेलका लागि सक्रिय हुनुभएको छ । आजै सहमतिपत्रमा हस्ताक्षर हुने सम्भावना छ,” एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख राजन भट्टराईले बाह्रखरीसँग भने, “उपेन्द्रजीसँग सहमति हुन्छ । उहाँ फेरि सत्तारूढ गठबन्धनको बैठकमा जाने सम्भावना म देख्दिनँ ।”
नेता भट्टराईले दुई दलबीचको सहमतिलाई अन्तिम रूप दिने प्रयास भइरहेको उनले बताए ।एमाले स्रोतका अनुसार उपेन्द्र यादवले मधेस प्रदेशमा संघीय संसद्का ३२ मध्ये १६ सिट माग गरेका छन् भने प्रदेशसभाका ६४ मध्ये कम्तीमा ३२ सिट आफूले पाउनुपर्ने प्रस्ताव ओलीसमक्ष गरेका छन् । त्यसैगरी, लुम्बिनी प्रदेशका नवलपरासी, रूपन्देही, कपिलवस्तु र बाँकेमा एक–एक सिट गरी कम्तीमा चार सिट आफ्ना लागि दिनुपर्ने प्रस्ताव एमालेसमक्ष गरेका छन् ।
प्रदेश नम्बर १ का सुन्सरीमा दुई सिट, मोरङमा एक सिट पाउनुपर्ने उपेन्द्रको माग छ । काठमाडौंको क्षेत्र नम्बर ७ मा जसपालाई एमालेले सघाउनुपर्ने जसपाको दाबी छ ।
जसपाले एमालेसँग मधेसमा १६, लुम्बिनीमा ४, प्रदेश १ मा ४ र काठमाडौंमा राजेन्द्र श्रेष्ठका लागि १ गरी २५ सिट मागिरहेको छ । एमालेले घटाउने प्रयास गरिरहेको छ ।
जसपा अध्यक्ष यादवलाई कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनले संघीय संसद्मा जम्मा १६ सिट मात्र दिनसक्ने बताएपछि गठबन्धन बैठक छाडेर हिँडेका थिए । त्यसपछि एमाले अध्यक्षसँग छलफल थालेका थिए ।