गंगा थारूले स्वतन्त्र उम्मेदवारी घोषणा गरिन
२१ असोज काठमाडौं। नेकपा एमालेकी नेता गंगा थारुले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।
लोकतन्त्रमा नागरिक नै सर्वोपरि हुने भएकोले आफूले देशलाई शिरमाथि राखेर स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएको बताएकी छन्। उनले आफू सधैँ राष्ट्र र राष्ट्रियताको लागिरहने पनि बताएकी छन्। एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थारुले पार्टीले आफूलाई टिकट नदिने थाहा पाएपछि यस्तो निर्णय लिएको बताइएको छ।
उनले लेखेकी छन्, ‘आज मैले ठिक निर्णय गरे या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहने छु। जनता भगवान हुन्। जनता नै सर्वोपरि हुन्। देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु हजुरहरूको साथ चाहिएको छ।’
दाङ- १ बाट एमालेले पोलिटव्युरो सदस्य शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी रहेको बताइएको छ। पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन्।
