बागीले ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फिर्ता हुन्छ – कांग्रेस


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
4.7K
SHARES

२७ असोज काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा बागी/विद्रोही उम्मेदवारी दिएकाले असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले दिएको समयमा उम्मेदवारी फिर्ता नगरे पनि ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय गरी सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन्। ‘आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

यसअघि कांग्रेसले गठबन्धनका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने र उनीहरूका प्रस्तावक र समर्थकलाई कारबाही गरेको थियो।