पोखरेललाई टक्कर शर्मा, कसले मर्लान बाजी ?


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
4.9K
SHARES

३० असोज दाङ । क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा मैदानमा उत्रिएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि यी दुई नेताहरुबीच हुन लागेको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । गत स्थानीय तह निर्वाचनको अंक गणित नियाल्दा यहाँ गठबन्धन दलहरु नै अगाडि छन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनका वडाध्यक्षलाई ३६ हजार १४६ र एमालेका वडाध्यक्षलाई ३३ हजार ५९३ मत प्राप्त भएको छ ।

यो निर्वाचन क्षेत्रमा घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिकासहित तुलसीपुर उपमहानगरपालिका ४ वडा १६, १७, १८, १९ वडाहरु रहेका छन् । गत निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर पनि घोराहीको मेयर उपमेयरसहित अधिकांस वडाहरुमा एमालेले जितेको थियो । बंगलाचुली गाउँपालिकामा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

क्षेत्र नं २ मै पर्ने तुलसीपुर उपमहानगरपालिकाका ४ वटा वडामध्ये १७ मा गठबन्धन,  १८ मा एमाले, १९ एमाले र वडा नं. १६ मा स्वतन्त्र उमेदवार विजयी भएका थिए । उनी माओवादी केन्द्रका नेता हुन् ।

स्थानीय तहको निर्वाचनअनुसार गठबन्धन दलहरु २ हजार ५५३ मतान्तरले अगाडि देखिन्छन् । वडाध्यक्षले पाएको मतको आधारमा माओवादी उमेदवार शर्मा ढुक्कजस्तै देखिन्छिन् । २०७४ सालको निर्वाचनमा यहाँबाट माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधिसभामा र शंकर पोखरेल (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिखेर देशैभर वाम गठबन्धन रहेको थियो ।

प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र २ (क) मा कुल ६३ हजार ३ सय २२ मतदाता छन् । यसमा बंगलाचुली गाउँपालिकाका र घोराही उपमहानगरपालिकाको सातवटा वडाहरु ४, १३, १४, १५, १७, १८ र १९ छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पूर्वसांसद राजु खनाल र नेकपा एमालेबाट बलिभद्र राना मुख्य प्रतिष्पर्धी छन् ।

२०७० सालमा कांग्रेसका खनाल यही निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए भने एमालेका रानाको लागि संसदीय निर्वाचनको अभ्यास यो नै पहिलो पटक हो ।

स्थानीय निर्वाचनमा गठबन्धन दलले १९ हजार २२२ र एमालेले  १४ हजार २४१ मत प्राप्त गरेका थिए । जसअनुसार गठबन्धन दल ४ हजार ९८१ मतान्तरले अगाडि छन् । क्षेत्र नं. २ (ख) ७० हजार ४ सय २६ मतदाता छन् । पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३ सय ८५ जना मतदाता छन् ।

यो क्षेत्रमा घोराही उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२ र १६ र तुलसीपुर उपमहानगरपालिकाको १६, १७, १८ र १९ नम्वर वडाहरु यो निर्वाचन क्षेत्रमा पर्छन् ।

यहाँ गठबन्धन दलबाट कांग्रेसका युवा प्रचण्ड विक्रम न्यौपाने र एमाले दाङका पुराना नेता गिरिराज केसी मुख्य प्रतिष्पर्धीका रुपमा रहेका छन् । उनीहरु दुवैको लागि यो नै पहिलो संसदीय अभ्यास हो ।

स्थानीय तहको निर्वाचनको मत परिमामअनुसार यहाँ भने एमाले अगाडि छ । एमालेले १९ हजार ३५२ मत र गठबन्धन दललाई १६ हजार ९२४ मत प्राप्त भएको छ । जसअनुसार एमाले २ हजार ४२८ मतान्तरले अगाडि  छ ।