यी दुईजनाका लागि रुवाबासी नगरौँ – अध्यक्ष ओली
५ कार्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरूले सधैँ टिकट पाउनुपर्ने छ र ? भनी प्रश्नसमेत गरे ।
शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएर अरूलाई अवसर दिइएको बताए ।
ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरू एकाधले अरूलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वाभाविक भएको बताए । उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए ।
“केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरूले त हिजो अस्तिसम्म भन्नुस्न असोज ३ गतेसम्म । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन्, भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?,” उनले भने ।