सन्दीपले बलात्कार गरेपछि पीडित किशोरीले पठाएकी थिइन् यस्तो फोटो


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
4.2K
SHARES

१४ कार्तिक काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार गरेपछि पीडित भनिएकी किशोरीले लामिछानेको गाडीको पछाडिको भागको फोटो पठाएको देखिएको छ । पीडित किशोरीले अर्का क्रिकेटर देव खनाललाई लामिछानेको गाडीको फोटो पठाएकी हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेखित खनालको बयानमा ‘त्यसदिन पीडितले स्न्यापच्याटमा लामिछानेको सेता रंगको गाडीको पछाडिको भागको फोटो पठाएको’ उल्लेख गरिएको छ ।

‘एक दिन लामिछानेले गितार बजाउँदै गीत गाएको भिडियो मैले स्न्यापच्याटमार्फत २० देखि २५ जनालाई पठाएको थिएँ, त्यस क्रममा भिडियो पीडित नाबालिगलाई पनि गएको थियो, त्यसको करिब चार पाँच दिनपछि ६ भदौमा लामिछानेसहित हामी खेलाडी अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न केन्या गएका थियौँ,’ खनालले भनेका छन् ।

यस्तै खनालले घटना हुनुभन्दा तीन चार महिनाअघि स्न्यापच्याटमार्फत पीडित किशोरीसँग चिनजान भएको बताएका छन् । उनले पीडित किशोरीसँग भेट नभएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘निजसँग खेलसम्बन्धी कुराकानी भइरहेकले भएकाले मैले सोसियल मिडियामार्फत चिनेको थिएँ, तर हालसम्म प्रत्यक्ष देखेको छैन, फोटोमा मात्रै देखेको छु ।’

विदेशमै हुँदा सञ्चार माध्यममार्फत लामिछानेविरुद्ध बलात्कारको कसूरमा जाहेरी परेको थाहा पाएको खनालले बताए ।