भाषणले भूमि फिर्ता हुँदैन – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २० २०७९
1.6K
SHARES

२० कार्तिक काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहजिल्ला डडेलधुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा शनिवार आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।’

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै देउवाले भने, ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।’ राजनीतिक जीवनको सुरुआतबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताए ।​

बिहीवारदेखि गृहजिल्लामा रहेका देउवाले शनिवार दुईवटा चुनावी सभालाई सम्बोधन गरेका थिए । जिल्लाको अजयमेरुको भद्रपुर र भागेश्वरको रुपालको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई बढी चिन्ता हुने दाबी गरे ।