गठबन्धनका उम्मेदवारको जित सुनिश्चित – उपाध्यक्ष महरा
२० कार्तिक घोराही। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार रेखा शर्माको जित सुनिश्चित भएको बताएका हुन्।
महराले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरूको विजय निश्चित भएको बताएका हुन्। गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ, उनले भने, स्थानीय तहको निर्वाचनको बेला भन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ।
एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गरे। एमालेका साथीहरूले पनि मत हाल्ने देखिएको छ, उनले भने, प्रतिगमन बिरूद्घको गठबन्धनलाई आम जनसमुदायको साथ रहने छ।’
आफू प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकको कुनै पनि उम्मेदवार नभएको उल्लेख गर्दै महराले नयाँ तथा युवा पुस्तालाई अवसर दिन आफूले त्याग गरेको बताए। मैले लामो समय संसदीय र राजकीय भुमिका रहेर काम गरेको छु, उनले भने, अब अरू साथीहरूलाई अवसर दिनुपर्छ भनेर निर्वाचनमा नउठेको हुँ।’ मुलुकको समृद्धि र प्रतिगमनका बिरूद्घ गठबन्धन भएको धारणा व्यक्त गर्दै महराले आम मतदाताले गठबन्धनलाई साथ दिने विश्वास व्यक्त गरे।