सुकुम्वासी बस्तीमा डोजर चलाउनु हुँदैन – नेता सिंह


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २७ २०७९
1.8K
SHARES

२७ कार्तिक काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्य उमेदवारसमेत रहेका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन् ।

उनले आइतबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रममा सुकुम्वासी बस्ती हटाउन अमानवीय रूपमा जबरजस्ती गर्नु नहुने बताए । उनले सुकुम्वासीहरूको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति, कार्यक्रम लागु गराउन आफू प्रतिबद्ध रहेको पनि बताए ।

“अमानवीय दृष्टिकोणबाट हामी कसैले पनि आफू सत्तामा छ भनेर जबरजस्ती कसैले गर्न मिल्दैन भन्नेकुरा अहिले पनि म भन्छु,” उनले भने, “भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरूलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउनको लागि म त्यसमा लाग्नेछु भन्नेकुरा विश्वास दिलाउन चाहन्छु ।”

नेता सिंहले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए । उनले अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकार र सुकुम्वासीहरू दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए । “तपाईंहरूलाई थाहा छँदैछ, योभन्दा अगाडी पनि यहाँ डोजरहरू नल्याएको होइन, ल्याएको छ । कहिले वाग्मती सर्वाधिकार सम्पन्नले ल्याउँछ, कहिले कसले ल्याउँछ,” उनले थपे, “तर, मेरो भनाइ के हो भने यो बसोवासलाई उठाउने काममा कि सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुपर्‍याे, होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने
त्यस्तो गर्न मिल्दैन ।”

नेता सिंहले मंसिर ४ गतेको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताए । उनले कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै संविधान कार्यान्वयनका लागि सामान्य अवस्था नआउन्जेल गठबन्धनलाई निरन्तरता दिइने उल्लेख गरे ।

“कांग्रेसको नेतृत्वमा जुन गठबन्धन छ, यो गठबन्धनकै सरकार बन्छ । संविधान कार्यान्वयन गर्नका लागि र सामान्य अवस्था नआउन्जेलसम्मका लागि यो गठबन्धनलाई निरन्तरता दिएर धेरैपछि आ–आफ्नो बाटोमा, आ–आफ्नो एजेन्डाअनुसार जाला,” उनले भने ।

उनले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनका लागि आवश्यक कानुनको सुधार तथा परिमार्जन गरिने बताए । उनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउनका लागि जोड दिइने पनि बताए ।