गठबन्धनले चुनाव जिते पनि सरकार बन्दैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २८ २०७९
2.4K
SHARES

२८ कार्तिक काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन्। चितवनमा आयोजित चुनावी सभामा उनले स्वार्थका लागि बनेको सत्ता गठबन्धनको सरकार बने पनि नटिक्ने टिप्पणी गरे।

ओलीले भने, ‘गठबन्धन सरकार भनेको कठपुतलीजस्तो हो। गठबन्धनले जित्यो भने ६ महिना सरकार बन्दैन। बन्यो भने पनि टिक्दै टिक्दैन। त्यहाँ खान गएकाहरू मात्रै छन्।’ उनले गठबन्धनले जिते फेरि राजनीतिक स्थिरता हुने बताए। ओलीले सत्ता गठबन्धनलाई म्याद गुज्रिएको औषधिको संज्ञा पनि दिए।

‘पटक-पटक सरकारमा हुँदा पनि नेपाली काँग्रेस र माओवादीले केही गर्न सकेन। यिनीहरू म्याद गुज्रिएका औषधि हुन्। कुनै काम गर्नेवाला छैन,’ उनले भने। ओलीले आफूले चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन हुने र गठबन्धन दलहरूले ल्याएका घोषणापत्र जनता ढाँट्ने पुलिन्दाको बाकस भएको बताए। गठबन्धनमा रहेका दलहरूले फरक-फरक घोषणापत्र ल्याएकाले कार्यान्वयन हुनै नसक्ने उनको टिप्पणी छ।

ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउनुपर्ने बताए। कोइराला राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको उनले बताए। ओलीले भने, ‘कोइराला लोकतान्त्रिक चरित्रको मान्छे हो। राजनीति बुझेको मान्छे हो। नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई जिताउन एमालेले सहयोग गरेको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछानेप्रति इंगित गर्दै उनले बाटो बिराएर ‘समाचार पढ्नुपर्ने’ मान्छे उम्मेदवार बनेर आएको अभिव्यक्ति दिए। ‘मैले सुनेको छु यस क्षेत्रमा अनेकथरी मानिस उठेका छन्। कोही टिभीमा समाचार भन्नुपर्ने त्यो छोडेर यता आएका छन्। कोही के गर्नुपर्ने, कोही के गर्नुपर्ने ! चिन्नु न जान्नु कता हिँड्या हो थाहा छैन, घण्टी बजाएका छन्, बाटो सोध्या छन्,’ ओलीले भने।