आज कहाँ कहाँ पुग्दैछन् प्रधानमन्त्री देउवा ?


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ३० २०७९
1.3K
SHARES

३० कार्तिक डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएको छन्। सभालाई सम्बोधन गर्न उनी आज गृहजिल्ला आउने भएका छन्।

काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए। सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन्। उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।

त्यस्तै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार-प्रसार संयोजक एवं नेपाली काँग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिए। यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए। सो सभालाई उनीसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गरेका थिए।

बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा काँग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा काँग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन्।