विप्लवको गतिविधिलाई लिएर आक्रमक बन्दै प्रहरी


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १ २०७९
1.3K
SHARES

१ मंसिर काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार (हिजो) देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो ।

विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो ।

बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एकजना घाइते भएका थिए ।

यस्तै, बुधबारै चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड गरिएको थियो ।

बुधबारै चितवनको भरतपुरमा बिहान पार्किङमा राखिएको बा३च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले घटना विप्लव समूहबाट भएको दाबी गरेको छ । बुधबारै साँझ बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको विस्फोटमा परी विप्लव समूहकै दुई कार्यकर्ता घाइते भएका थिए ।

प्रहरी टोली घटनास्थल पुग्दा प्रेसरकुकर बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट विप्लव समूहका केही दस्तावेज समेत बरामद गरेको छ ।

विस्फोट र हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कता बढाइएको र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन् । उनले बाह्रखरीसित भने, “निर्वाचनमा ढुक्कसँग मतदान गरौँ । आवश्यक सुरक्षा व्यवस्थापन गर्छौँ ।”

प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले विस्फोटलगायत घटनाले गम्भीर बनाएको बताए । उनले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उल्लेख गरे ।

डीआईजी राईले भने, “अब हामी आपराधिक समूहविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन्छौँ । थप सचेत भएका छौँ । मातहतका सबै कार्यालयलाई आवश्यक निर्देशन दिएका छौँ । संविधान र कानुनविपरीतका गतिविधि सहँदैनौँ ।”

०७७ फागुनमा विप्लव समूहले हिंसा छाडेको घोषणा गरेको थियो । सो समूहले सरकारसँग विभिन्न तीनबुँदे सहमति गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएको बताइए विप्लव समूहले सरकारलाई हतियार बुझाएको थिएन ।