कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ – शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर १५ २०७९
1.5K
SHARES

१५ मंसिर माेरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।

विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी )सहित थप अन्य दल सहभागी हुने दाबी गरे ।

नेता कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए ।

उनले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए । नेता कोइरालाले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए । रासस