सरकार निर्माण बारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया , कसको बन्छ सरकार ?
२५ मंसिर काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँगै भएको बताएका छन् ।
प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो, जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन ।”
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उनले यसको रक्षा गर्ने दायित्व सबैको भएको बताए । “सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ,” उनले भने, “६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ, सरकार त्यहीँ बन्छ ।” यो निर्वाचन अपेक्षित नभएको बताउँदै उनले खत्तम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको जनाए ।