ठगी प्रकरणमा सचिव पाण्डे पक्राउ
२० वैशाख काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो।
आफूमाथि पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी स्रोतले जनाएकाे छ। गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।
गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो। जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा.इन्द्रजित राईसहित ६ जना यसअघि पक्राउ परिसकेका छन्।