गोप्य तस्बिर लिएर चरित्रहत्या गर्ने ज्ञानु थापा पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०
3.2K
SHARES

३० जेठ काठमाडौं ।महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ।स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा प्रहरीले उनलाई गत बुधबार पक्राउ गरी काठमाडौं ल्याएको हो। प्रहरीका अनुसार उनीविरूद्ध एक महिला पीडितले जाहेरी दिएकी थिइन्।

‘ज्ञानुले आफ्ना श्रीमान र पीडित महिलाबीच कुराकानी भएको थाहा पाएकी रहेछन्। त्यसपछि पीडितको तस्बिर/भिडिओ आफूले लिएर, फेसबुकमा नक्कली आइडी बनाएर पीडितकी भाउजूको फेसबुकमा ती तस्बिर/भिडिओ पठाएकी रहिछन्,’ प्रहरी स्रोतले भन्यो।

स्रोतले थप्यो, ‘हामी पनि यो घटनामा सुरूमा अलमलिएका थियौं। तर अहिलेसम्म यसमा श्रीमानको संलग्नता भने देखिँदैन।’ज्ञानु थापाले श्रीमानको सामाजिक सञ्जालमा पहुँच पुर्‍याएर दुरूपयोग गरेको प्रहरीले जनाएको छ। ज्ञानुलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्‍धान अघि बढाएको छ।