पक्राउ पर्न थाले ललिता निवास प्रकरणका आरोपित
१२ असार काठमाडौँ । ललिता निवासमा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई मंगलबारबाट प्रहरीले पक्राउ गर्न थालेको छ। मंगलबार केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई नक्सालस्थित उनकै निवासबाटै पक्राउ गरेको छ। यस प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने तयारी भइरहेको जानकारी प्रहरीले दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ १२ गते पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पनि नाम मुछिएकोमा अख्तियारले मन्त्रिपरिषद्को निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त मुद्दा हालसम्म किनारा लागेको छैनउक्त प्रकरणमा हाई-प्रोफाइलसहितका १७५ जनाविरुद्ध मुद्दा चलाइए पनि १ जना शोभाकान्त ढकाल मात्रै थुनामा रहेका छन्। अहिलेसम्म १३३ जनासँग अदालतले थुनछेक बहस समेत गरिसकेको छ। अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा रिहा भएका थिए।
बस्न्यातलाई २०७७ मंसिर २८ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो। थुनछेक बहस सकिएकामध्ये ५४ जना विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका छन्। बाँकी ७७ जनासँग धरौटी लिएर छाड्ने आदेश भएको छ। विशेषले उनीहरुसँग २० हजार रुपैयाँदेखि २ करोड रुपैयाँसम्म धरौटी माग गरेको छ।