सुन तस्करी प्रकरण : १०० किलोको ‘मालिक’ साधारण ‘ज्यामी’


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ५ २०८०
2.6K
SHARES

५ साउन काठमाडौँ । विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब एक सय केजी अवैध सुनका मालिक कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ । काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिएका छन् ।

राजश्व अनुसन्धान विभागले बुधवार राति करिब १० बजे साँखुबाट पक्राउ गरेका दिलीप भुजेलको खास घर दोलखाको मेलुङ गाउँपालिका–१, पवटी भन्ने स्थानमा पर्छ । २१ वर्षीय दिलीपले कक्षा १२ सम्मको अध्ययन गरेका छन् ।

दिलीपका बुवा राम बहादुर भुजेलका अनुसार दिलीप केही समय अगाडिसम्म घर बनाउने स्थानमा इँटा बोक्ने लगायतको साधारण काम गर्थे । करिब २ महिना अगाडिबाट भने दिलीपले साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने काम गर्दै आएका थिए ।

तर पहिले ज्यामी काम गर्ने र हालसालै मात्र चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका तिनै दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीमा संलग्न भन्दै पक्राउ परेका छन् । उनकै नाममा रहेको ‘रेडी ट्रेड प्रालि’को नाममा आयात भएको ठुलो परिमाणको विभागले बरामद गरेको हो । तर, यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएको खुलासा भएको हो ।