यी हुन् प्रतिनिधिसभाका १० समिति सभापतिका लागि ११ उमेदवार


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १० २०८०
1.6K
SHARES

१० भदौ  काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत विषयगत समिति सभापतिका लागि उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । संसद् सचिवालयले दिएको जानकारीअनुसार १० विषयगत समितिमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उद्योग वाणिज्य तथा श्रम उपभोक्ता हित समितिमा दुईजनाबाहेक अन्य सबै समितिमा एकजनाको मात्र उमेदवारी परेको छ । यो समितिमा गठबन्धनका तर्फबाट जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक फरक उमेदवारी दर्ता गराएका छन् । यीबाहेक अन्य समितिमा भने दलहरुको एकल उमेदवारी परेको छ । उद्योग समिति सभापतिमा जनमत पार्टीबाट अब्दुल खानको उमेदवारी परेको छ । यस्तै, समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीले उमेदवारी दर्ता गराएका छन् ।

स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएको छ । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानव अधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)का बिमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसबाटै आरजु राणा देउवा तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति जसपा नेपालबाट राजकिशोर यादवको उमेदवारी परेको छ ।