हाम्रो अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ – उपप्रधानमन्त्री श्रेष्ठ
१४ भदौ काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् ।बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् । उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए ।
उनले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए ।
सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पुर्याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडी नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीलाई रोक्ने, ठगिलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरुलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडी बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ । र सुशासन स्थापना गरेसँगै मात्रै समृद्धिलाई तीव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ’, उनले भने, ‘त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । देशका सबै जनसमुदायहरु, सबै संगठनहरुले, सबै संस्थाहरुले, सबै युवाहरुले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन् । म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहान्छु । यसले थोरै आशा पैदा गरेको छ । समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तिब्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ । तर साथसाथै यो सुशासन जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध सञ्चालन गरिएको हो ।’
उनले अगाडि भने, ‘ति प्रवृत्ति र तागतहरु संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मुल आधारको रुपमा यसलाई अगाडी बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने संकल्प छ । सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन ।
सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय मुद्दामा सहमती कायम गर्नुपर्छ । त्यसपछाडी सारा संघ, संगठनहरु, निजी क्षेत्र, सबै मिलेर देशको अहिलेको राष्ट्रिय, केन्द्रिय कार्यभारलाई पूरा गर्न हामी एकसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्छ भनेर संकल्प गर्नु जरुरी छ । त्यसो भयो भने नेपाल बनाउन सक्छौँ । बनाइ छाड्नुपर्छ । अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ । नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडी बढ्नुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्याउने पनि बताए ।