एमाले लुम्बिनी प्रदेशको निर्वाचन प्रक्रिया स्थगित
१७ भदौ बुटवल । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनविपरीत एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतिको प्रयास असफल भएको छ । अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेल वर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।
सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुई समूहबाट अध्यक्षमा उम्मेदवारी परेको हो । पाल्पाका कँडेल उपाध्यक्ष विष्णु पौडेल समूहका हुन् भने रिजाल महासचिव शंकर पोखरेल समूहका मानिन्छन् । प्यूठानका रिजाल केन्द्रीय सदस्य छन् ।
अध्यक्षमा उठेका रिजालको उम्मेदवारीमा विजयविराज विष्ट प्रस्तावक र बालसिंह काउछा समर्थक छन् । कँडेलको उम्मेदवारीमा राजुप्रसाद श्रेष्ठ प्रस्तावक र भोजराज पोखरेल समर्थक छन् ।
यसैगरी उपाध्यक्षमा वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र बाँकेका पुजन विश्वकर्माको उमेदवारी परेको छ । १ हजार ४ जना प्रतिनिधिहरुको नाम सार्वजनिक गरी दाबी-विरोधका लागि आह्वान गरिए पनि थप प्रक्रिया अघि बढाउन नेतृत्व चयन गर्दा पदाधिकारीको संख्या तथा पद बारे टुंगो नलागेपछि आइतबार दिनभर निर्वाचन कमिटी अलमल थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किए पनि अन्तत: चुनावी प्रक्रियामै गएर नेतृत्वको टुंगो हुने देखिएको छ ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १ हजार ४ प्रतिनिधिहरु सहभागी छन् ।
निर्वाचन प्रक्रिया सोमबार बिहान १० बजेसम्मका लागि स्थगित
यसैबीच प्रथम अधिवेशनअन्तर्गत निर्वाचनका सबै प्रक्रिया रोकिएका छन् । उम्मेदवारी मनोनयन चलिरहेका बेला निर्वाचन कमिटीले साँझ साढे ८ बजेदेखि निर्वाचनमा उम्मेदवारी प्रक्रिया स्थगित गरेको हो ।
सोमबार बिहान १० बजेसम्मका लागि उम्मेदवारी दर्ता लगायत निर्वाचनका सबै प्रक्रिया स्थगित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए । अध्यक्ष, उपाध्यक्ष सहितका पदाधिकारीमा दुई-दुई जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।
निर्वाचन कमिटीले साँझ ५ देखि ९ बजेसम्म उम्मेदवारी मनोनयन प्रक्रिया घोषणा गरेको थियो । साढे ८ बजे अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि प्रक्रिया रोकिएको हो ।