मेरो ड्राइभर छतबाट खसेर मरेको भए… तपाईंहरुले के भन्नुहुन्थ्यो – नेता कोईराला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
2.1K
SHARES

२२ भदौ काठमाडौ । मुलुकको राजनीतिक आर्थिक, सामाजिक सांस्कृतिक धार्मिक समाजका कुनै पनि आयाम ठिक अवस्थामा छैनन् ।  मुलुक अराजकताउन्मुख छ, सँगै कूटनीतिमा पनि अराजकताको संकेत देखा परेका छन् ।

चुच्चे नक्साको इस्यू आएपछि कूटनीतिक अराजकता थपिएको स्पष्ट छ । चुच्चे नक्साको विषयमा पूर्व परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रीबाट फरक–फरक कुरा आएका छन् ।

यसमा राज्यले गम्भीर हुँदै सोच्नुपर्ने विषय हो भन्ने मलाई लाग्छ ।  चुच्चे नक्सा भनेको देशको अखण्डता र सार्वभौमसत्तासँग सम्बन्धित कुरा हो । चुच्चे नक्सा भारतले अस्वीकृत नै गरिदियो भने चीनले बेवास्ता ।  प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ, अस्ती भारत जाँदा ठ्याक्कै यही इस्यू आएको थियो, ग्रेटर भारतको । अब उहाँ चीन जाँदै हुनुहुन्छ कसरी ‘डिल’ गर्नुहुन्छ भनी सोचिरहेको छु ।

म मध्यमार्गी व्यक्ति हुँ, म ‘पपुलिस्ट’ कुरै गर्दिन । चिया पसलमा गएर म बसेँ भने मलाई पाँच जना भए पुग्छ ।  उनीहरुसँग गफ गर्न पाए पुग्छ । गगनजीलाई पचास जना चाहिएला । स्वर्णिम वाग्लेलाई हजार जना चाहिएला र रवि लामिछानेलाई दुई हजार मान्छे चाहिएला ।

नैराश्यताले पपुलिजमलाई बढाएको हो कि पपुलिजमले नैराश्यता बढाएको हो त्यो चाहिँ हेर्नुपर्छ । निराशा बेच्ने काम भयानक छ । यसका लागि एजेन्डा बनाउनुपर्छ सुशासनको ।

बालेनका इस्युमा हेर्नु नि । हामीलाई पनि विरोधमा बोल्न डर लाग्छ, केही बोले यसरी आक्रमण गर्छन् । एकछिन कल्पना गर्नुहोस् शेखर कोइरालाको ड्राइभर माथि छतबाट खसेर मरेको भए चुनावको बेला के भन्नुहुन्थ्यो ? तपाईंहरुले के भन्नुहुन्थ्यो ? के लेख्नुहुन्थ्यो ? मलाई जवाफ दिनुहोस् त । हो यही हो ‘पपुलिजम ।’

डा. शेखर कोइरालाले शुक्रबार काठमाडौंमा संवाददाताहरूसँग गरेको छलफलको सम्पादित अंश