यी हुन् ४ जनाको सामूहिक हत्यामा गर्ने व्यक्ति
३१ भदौ काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ । प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो । स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्दै आएका थिए ।
उनलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘तपाईंहरु अहिले पनि कपडामा लागेका रगतका छिटाहरु देख्न सक्नुहुन्छ’, एसएसपी राठोरले भने । केही दिन अघि विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो । लेखेर उनले घटनाको स्वीकार गरेका थिए । उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए । भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको खुलेको छ । राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले जानकारी दिए ।
घटनापछि पनि उनी दिदिभिनाजुकैमा सुत्न गएका थिए । आइतबार बिहान भने प्रहरीले आफूलाई खोज्न सक्ने भन्दै सिन्धुपाल्चोक जान लागेका थिए । त्यही क्रममा उनी पक्राउ परेका हुन् । सिन्धुपाल्चोकमै उनले ८ कक्षासम्म र काठमाडौमा १२ कक्षासम्म अध्ययन गरेको प्रहरीले जनाएको छ । उनीमाथि सांकेतिक भाषाविज्ञ झिकाइ अनुसन्धान गरिएको र थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।