सुन प्रकरण : यी २५ जनालाई थुनामा पठाउन अदालतको आदेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०
7K
SHARES

१९ असोज काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा पठाउन आदेश दिएको हो । ६० किलो सुन प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाई अभियोजन दर्ता गरेको थियो ।

कार्यालयले याओ पुचेङ, दावा छिरिङ, थुप्टिङ छिरिङ, हर्कराज राई, कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पारजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ, किशोर बस्नेत, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, कुमार ढकाल, सरोज श्रेष्ठ, रुक्मिना सुब्बालाई थुनामा पठाउने आदेश दिएको छ ।

जसमध्ये  अदालतले भन्सार एजेन्ट रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ । उनीहरुलाई अवैध रुपमा सुन भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैंक अन्तर्गतको कसूर तथा संगठित अपराधमा कारबाही गर्न माग गर्दै ३ अर्ब ५० करोड ३० लाख बिगो दावी गरेको थियो ।

सुन प्रकरणमा ३२ जना पक्राउ परेका थिए । तर ३ फरार सहित सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध मात्र अभियोग दर्ता गरेपछि ६ जनालाई भने मुद्दा चलेको थिएन ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले अवैध सुन पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरी भदौ २७ गते राय सहितको प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज अभियोजन दर्ता गरेको थियो  ।