राज्यले जे गर्नुपर्ने थियो, अहिले त्यो गरिरहेको छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
1.7K
SHARES

१८ कार्तिककाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट पीडित बनेकाहरूको राहत र उद्धारका लागि राज्यले आफ्नो कर्तव्य सफलतापूर्वक निर्वाह गरेको बताएका छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘आज म आफै गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरेँ । हताहत र घाइतेको सङ्ख्या ठुलो रहेको छ भने हजारौँ घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्थ्यो, त्यो गरिएको छ ।’

उनले उद्धार राहतका लागि तीनवटा हेलिकप्टर अझै खटिरहेको जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीहरू पनि सबै प्रभावित क्षेत्रमा खटिएको बताए । उनले हालसम्म उद्धारका कार्य सफलतापूर्वक सम्पन्न भएको जिकिर पनि गरे । उनले भने, ‘मैले भोलि मन्त्रिपरिषद् बैठक बोलाएको छु । बैठकबाट थप राहतका बारेमा निर्णय हुन्छ ।’