बेरुवा औंठी बनाएर नेपालतर्फ सुन तस्करी
५ मंसिर काठमाडौं । सुन तस्करहरूले पछिल्लो समय नेपाल-चीन सीमाबजार केरुङमा सुन पसल खोली गहना बनाएर नेपालतर्फ सुन तस्करी गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रसूवाले गत आइतबार सुनको बेरुवा औंठी लगाई आएका तीन जनालाई पक्राउ गरेपछि सुन तस्करको पछिल्लो चाल थाहा भएको हो ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु निवासी सिनेवाङ्दी तामाङ, आमाछोदिङ्मा –४ गोल्जुङकी लक्ष्मी तामाङ एवं आमाछोदिङ्मा –५ चिलिमेकी ल्हाक्पाबुटी तामाङ आइतबार सुनको बेरुवा औंठीसहित पक्राउ परेका थिए । पक्राउ परेकाहरू उत्तरी रसुवाका नेपाली नागरिक हुन् ।
उनीहरू नेपाली बजार मूल्यअनुसार १४ लाख ९१ हजार ६२८ रुपैयाँ बराबरको १२ तोला ९१ लालबाट तयार भएका पाँच बेरुवा सुनका औंठी लगाएर नेपाल आएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीले केरूङबाट बेरुवा औंठी लगाई सुन आयात गर्न लागेको अवस्थामा नेपाली नागरिक पक्राउ परेसँगै सीमा क्षेत्रमा गरगहना लगाउनेप्रति विशेष निगरानी थालिएको जानकारी दिए ।
केरुङमा सुन पसलको कारोबार गरिरहेका व्यापारीमार्फत गहनाका रूपमा अवैध कारोबार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रसुवागढी नाकाबाट स्थायी पास पाएका रसुवावासीले मात्र केरुङ आवतजावत गर्न पाउँछन् । केरुङ आवतजावतका लागि पास पाएका स्थानीयले अवैध रूपमा सामान ल्याउन पाउँदैनन् । राहदानीमार्फत आएका महिलाले ५० ग्राम र पुरूषले २५ मात्र सुन ल्याउन पाउने प्रावधान छ ।
सुन तस्करी गर्न तस्करहरूले कुख्यात बिन्दु बनाएको रसुवागढी नाका कोरोना महामारी फैलिएसँगै वि.सं. २०७६ माघ २७ गते बन्द गरिएको थियो । तीन वर्षपछि गत चैत १८ गतेमात्र सो नाका खुला गरिएको हो ।
लामो समय बन्द भएर थप सुरक्षासहित नाका खुला गरिएपनि तस्करहरूले रसुवागढी नाकालाई सुन तस्करीको हब बनाउन खोजेका हुन् । सत्तारुढ माओवादी केन्द्रका शीर्षस्थ नेताहरू यसअघि नै सुन तस्करीमा मुछिइसकेकाले उनीहरूकै संरक्षणमा तस्करले सुन तस्करीको नयाँ उपाय अपनाउन थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।