दलहरूले गरेको प्रतिबद्धता पूरा नहुँदा जनता निराश छन् – अध्यक्ष तिमिल्सिना


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २७ २०८०
1.2K
SHARES

२७ मंसिर काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिबद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिबद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताए । उनले भने, ‘चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उम्मेदवारहरुले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादि मत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छौं, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौं त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौं, त्यो गर्नुपर्छ ।’

उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए । उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘ सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीं प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौं, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्न सक्ने कुरा बोलौं, बोलेको कुरा गरौं ।’अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई कामकारबाही गर्न आवश्यक रहेको बताए ।