खल्तीबाट नेता हालेर समावेशीता हुँदैन – महामन्त्री थापा
४ पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समावेशीताको दुरूपयोग भएको बताएका छन्। मंगलबार नेपाली कांग्रेस गण्डकी सम्मेलनमा बोल्दै महामन्त्री थापाले समावेशीताको नाम दुरूपयोग गर्दै नेताहरूले आफ्नो खल्तीबाट नेता ल्याउने गरेको बताएका हुन्। ‘एकल सरकार बनाउने कुरा महत्वपूर्ण छ, समावेशी सरकार बनाउने कुरा त्योभन्दा महत्वपूर्ण छ,’ उनले भने, ‘समावेशी बनाउने भनेको नेताको खल्तीबाट हालेर बनाउने होइन, यसको दुरूपयोग भएको छ, यसलाई रोक्छौं।’
थापाका अनुसार धर्मका नाममा अहिले तर्साउने काम भइरहेको छ। सनातनदेखि चल्दै आएको धर्म, संस्कृति कमजोर नहुने उनको भनाइ छ। ‘सनातनदेखि चल्दै आएको धर्म संस्कृति कमजोर छैन, कसैले हल्लाएर हल्लिँदैन,’ उनले भने, ‘अल्पसंख्यकको धार्मिक स्वतन्त्रता रहन्छ, हामी तर्सिने होइन, तर्साउने होइन।’ यस्तै, सम्मेलनमा केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयता खारेज गर्दै हिन्दु राष्ट्र कायम गर्न कांग्रेस लाग्नुपर्ने बताए।
‘हिन्दु राष्ट्रका पक्षमा जनमत हेरौं, प्रदेश संरचनाको विकल्प खोजौं, निर्वाचन प्रणाली संशोधन आवश्यक छ,’ भण्डारीले भने, ‘मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो संविधान खारेज हुन सक्छ।’ भण्डारीलाई महामन्त्री थापाले चैतपछि यो वर्षको अन्त्यबाहेक अरू केही नहुने जवाफ दिए। ‘चैतमा के हुन्छ? यो वर्षको अन्त्य हुन्छ, अरू केही हुन्न,’ थापाले जवाफ दिँदै भने, ‘उत्तेजना, घृणाको राजनीति गर्न जो गए पनि हुन्छ तर सम्हाल्ने राजनीति नेपाली कांग्रेसले गर्नुपर्छ।’