प्रधानमन्त्रीको मन्त्री फेर्ने संकेत : गृहमा र परराष्ट्रमा यी नेताको चर्चा
११ पुस काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेर्ने छनक दिएका छन्।सरकारको एकवर्षे उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरू बदल्ने संकेत दिएका हुन्। उनले कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने संकेत आज राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा दिए।
मन्त्रीहरू फेर्ने चर्चा भइरहेका वेला अब कार्यक्षमता कमजोर हुनेहरूले ठाउँ ओगट्न नहुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। उनले मन्त्रीहरूको कार्यक्षमताको कुरा उठाएर मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए।
उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बस्न जरुरी नरहेको सुनाए। प्रधानमन्त्री प्रचण्डले केही दिनमै कार्यक्षमता कमजोर हुने मन्त्रीहरू हटाउने स्रोतले बताएको छ।
स्रोतका अनुसार हाल गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिने तयारी छ। गृह कांग्रेसलाई दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
गृह छाडेर परराष्ट्रमा जान श्रेष्ठले पनि रुचि व्यक्त गरेका स्रोतको दावी छ। हाल परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद छन्। गृहमा साउदलाई नै ल्याउने/नल्याउने टुंगो कांग्रेसले लगाइसकेको छैन।
स्रोतका अनुसार गृहमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखकको चर्चा छ। ‘लगभग लेखकको नाममा सहमति जस्तै भए पनि टुंगो लागिसकेको छैन,’ स्रोतले भन्यो, ‘पार्टी सभापतिले चाहेको व्यक्ति नै गृहको नेतृत्वमा जाने पक्का जस्तै छ।’