जनतालाई चुसेर गरिब बनाउने राजतन्त्र फर्किन दिँदैनौं – अध्यक्ष ओली
१६ पुस काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले भइरहेको राजतन्त्र पुनर्स्थापनाको बहस औचित्यहीन रहेको बताएका छन् । आफूहरुले कुनै हालतमा राजतन्त्र फर्किन नदिने उनको भनाइ छ ।कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राजसंस्थाको कुरा गर्नु भनेको चिहानबाट निकालेर नलिखुट्टाको हड्डी फुक्नुजस्तै भएको दोहोर्याए । राजतन्त्र भएमा राष्ट्रियता बलियो हुन्छ भन्ने भाष्य पनि गलत रहेको ओलीले टिप्पणी गरे ।
सिक्किमको उदाहरण दिँदै उनले भने, ‘देश बचाउने जनताले हो, राजाले होइन ।’
राजसंस्थाको आलोचनामा ओलीले खर्चेका शब्दहरु यस्ता थिएः
एकथरि मान्छे छन्, जो राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गर्छन् । भारतमा लगभग ५६५ रजौटा थिए । राजाले राष्ट्रियता बलियो बनाउँथ्यो भने ती रजौटा कायम हुन्थे होला नि त आजसम्म । सिक्किम राजासहितको स्वतन्त्र देश थियो । त्यहाँ राजा थिए त । राजा हुँदा देश बच्दोरहेछ ? जनताले हो कि राजाले देश बचाउने ?
जन्मसिद्द श्रेष्ठताको सिद्दान्त वैज्ञानिक आधारबिना तथ्यले पुष्टि गर्न नसक्ने तर्कहिन पाखण्डी सिद्दान्त हो । अन्धविश्वासको पराकाष्टा हो । जनताको पर्याप्त सचेतताको अभावमा कायम रहेको सामन्तवादको अवशेष हो ।
कुनै देशमा राजनीतिक सम्झौताका कारण कायम रहेको हुनसक्छ । तर नेपालमा राजतन्त्रको बहस आवश्यकै छैन । यो सिद्दिइसक्यो ।
दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको हो । त्यतिबेला हामीले उपयुक्त कदम नचालेर कमजोरी गर्यौं । अलिक दिन डमी राजतन्त्र चल्यो । त्यसले तमासा देखायो । अन्ततः हटाउनुपर्यो । संविधासभाले निर्णय गर्यो, हट्यो । त्यो भइसक्यो ।
कुनै प्रगतिशील कुरा भुलवस गएको भए फर्काउँथ्यौं होला । तर यो त अढाइ सय वर्षसम्म नेपाली जनतालाई चुसेर गरिब बनाउने त्यो चिजलार्ई फेरि ल्याउने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक, सैद्धान्तिक, वैचारिक कुनै हिसाबले हुँदैन ।
अर्को अचम्म छ । कस्तो राजा ल्याउन खोजेको ? यी दलहरुले गरेनन् भनेर यीनीहरुलाई जेल हालेर चलाउने तानाशाह राजा ल्याउने हो ? त्यो चाहीँ होइन भन्छन् फेरि । संवैधानिक, सेरेमोनियल राजा भन्छन् । सेरेमोनियल त रामचन्द्र जी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त्यो राजाले चाहीँ । गद्दीमा बसेर ट्वाल्ल हेर्नेबाहेक केही गर्ने त होइन । अनि त्यहाँ लगेर राख्नेवित्तिकै के हुन्छ ?
यो राजतन्त्रको बहस फाल्तु हो । चिहानबाट निकालेर नलिखुट्टाको हड्डी फुकेर कहाँ पुग्छौ ? कतिपय सामाजिक सञ्जालमा लेख्छन् कि यी तीन नेता किन भेटिराख्या छन् ? लोकतन्त्र फ्याक्न नदिने हुन् कि क्या हो ? भन्छन् । यो डिक्लियर छ त । हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । हामी राजतन्त्र फर्किन दिँदैनौं । तानाशाही आउन दिँदैनौं । कुनै पनि प्रकारको अनडेमोक्रेटिक सिस्टम यहाँ हुँदैन । यहाँ डेमोक्रेसी मात्र हुन्छ ।