अबको बजेट जनताको निगरानीमा बन्छ – प्रधानमन्त्री
२९ पुस काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट बनाउँदा पहिलेभन्दा आमूल परिवर्तन गरिने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा उनले जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा सरकारले बजेट बनाउने बताएका हुन्।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले इतिहासमै पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइने भनेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बजेट वैधानिक र वस्तुवादी बनाउनेमा जोड दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले जानकारी दिए।
उनले भने, ‘अबको बजेट बनाउँदा पहिले सरकारमा छलफल गरिन्छ। अन्तिममा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ। त्यसो हुँदा जनताले के चाहन्छन् भन्ने कुरा पनि आउँछ। बजेटको सिलिङ बनाउँदा सबै कुरा सबैसँग छलफल गरिन्छ।’
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अघि नै व्यापक छलफल पनि गरिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। उनले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ।