गठबन्धनको गोत्र निकम्मा – अध्यक्ष ओली
४ माघ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए ।
यी एकै नस्लका हुन् । कमिसन तन्त्रका हुन् । यिनको गोत्र निकम्मा र जात देशद्रोही हो’, अध्यक्ष ओलीले भने, ‘त्यसकारण यी एकै ठाउँमा बस्छन् । त्यसकारण हामीले जनताका बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बरबाद हुनबाट जोगाउनुपर्ने पनि हुनसक्छ ।’अध्यक्ष ओलीले अहिले देश सबै क्षेत्रमा अप्ठेरो अवस्थामा रहेको भन्दै एमालेले वर्ग संघर्ष गरिरहेको बताए । ‘यसमा हामीले गर्व गर्नसक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्ने भिड्ने आँट नै गर्दैनन् । हामीमात्रै एक्लै लड्छौ र लड्ने पनि’, अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरुले स–साना जोडेर सरकार बनाएका छन् । त्यो कस्तो सरकार भने तरकारी बारीको बुख्याँचा जस्तो छ । केही गर्ने होइन त्यसले ।’ उनले अहिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको बताए ।
‘सरकार निकम्मा । भ्रष्टाचार र कमिसनखोरी सरकारको संरक्षक । यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बर्वाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ को चुनाव भनेर पर्खेर हुन्छ ? उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्त्काएर..।’ उनले लोभीपापीहरुको गठबन्धन सहजै नभत्कने भएकाले देश जोगाउन पार्टीले सिठ्ठी बजाउनेवित्तिकै कार्यकर्ताहरु आन्दोलनका लागि तयार रहनुपर्ने बताए ।‘यो गठबन्धन देशका लागि अत्यन्तै हानिकारक छ, राष्ट्रियतालाई कमजोर बनाइसक्यो, देशका स्रोतहरू बेचिसक्यो । हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजा धुजा बनाइसक्यो । त्यसकारण समय घर्किनुभन्दा अघि हामी तयार रहनुपर्छ’, ओलीको भनाइ छ ।