सार्वजनिक खरिद ऐन संशोधनको तयारीमा – मन्त्री ज्वाला
४ माघ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए । उनले विकाससँग जोडिएको ऐन कानुनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानुन परिमार्जनका विषयमा पनि छलफल भइरहेको बताए ।
त्यस्तै, मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगायतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे । मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन भरतपुर, विराटनगर र मूलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरी अहिले राष्ट्रिय गौरवको आयोजना २४ बाट २७ पुगेको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरूले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने उनको भनाइ थियो । सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन फरक हुनुपर्ने मागलाई सम्बोधन गर्न दुई वटा विधेयकको मस्यौदा तयारी गरी अर्थमा पठाएपनि दुई ऐनलाई एउटै बनाउन अर्थबाट सुझाव आएको धारणा राखे ।