संसारभर नै सत्ताका लागि महाभारत छ : देउवा


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १० २०८०
2.4K
SHARES

१० माघ पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर नै महाभारत रहेको बताएका छन् ।“सत्ता भनेको सबैलाई आवश्यक छ नि, नेपालमा ।  संसारभर नै अहिले सत्ताका लागि महाभारत नै छ । चुनाव भनेको त्यही हो ।” उनले भने ।मंगलबार कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सत्ता गुमेको पार्टीलाई सत्तामा ल्याउँदा पनि जस नदिएकोमा असन्तुष्टि बने ।

“पार्टीलाई सत्तामा ल्याउनुपर्‍यो नि । सत्ता भनेपछि, आफ्नो केही नभएपछि लौ शेरबहादुरले बिगार्‍यो–बिगार्‍यो भन्ने । फेरि ल्याएपछि भएन भन्ने ?,” उनले प्रश्न गरे ।गठबन्धनको पक्षमा बोलिरहने देउवाले मंगलबार पनि कुरा दोहोर्‍याए । अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत नआउने भएकाले कुनै पार्टीसँग मिलेर सरकार बनाउनु बाध्यता रहेको उनको भनाइ छ ।

“गठबन्धन नगरेरै जित्ने पार्टी बनाउनुस् । बलियो बनाउनुस् न । जनता भनेको सबैभन्दा ठूलो हो, जनता हो मालिक यो देशको । जनतामा जानुपर्छ, भेटघाट गर्नुहोस्, यहाँ कसैको विरोध गरेर ठूलो हुँदैन,” देउवाले भने ।फरक प्रसंगमा उनले समानुपातिक र समावेशीताको मान्यताबाट पार्टी पछाडि नफर्कने स्पष्ट पारे ।

भारतमा बल्ल आएर महिलालाई ३३ प्रतिशत दिने कुरा आइरहेको प्रसंग झिक्दै सभापति देउवाले भने, “यो संविधान समावेशी र समानुपातिक छ । नेपाल त अझ एउटा महिला पालिका अध्यक्ष वा उपाध्यक्ष, मेयर उपमेयर एउटा हनुपर्छ । संसारभरका देशमा यस्तो छैन । यसमा सबैको सहभागिता हुनु राम्रो हो ।”

देउवा अगाडि बोलेको जिल्ला सभापति किशोरदत्त बरालले समावेशी निर्वाचन प्रणालीको खारेजी हुनुपर्ने मत राखेकोमा देउवाले जवाफ फर्काएका हुन ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा देउवाले नेपाली जहाज यही विमानस्थलबाट उडान हुनुपर्ने बताए ।पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता आवश्यक नरहेको बताए ।