गृहमन्त्रीलाई रविको चुनौति – मलाई डाम्न सक्नुहुन्न, सक्दै त सक्नुहुन्न


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १७ २०८०
2.2K
SHARES

१७ माघ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जीबी राईलाई पक्रिन नचाहेको बताएका छन् । मंगलबार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरूले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जीबी राईलाई पक्रिन नचाहेको बताए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रूपमा सहकारी पीडितहरूलाई न्याय दिन नचाहेको जिकिर गरे । उनले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागिपरेको बताए । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनुभन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताए ।

सभापति लामिछानेले सरकारले जीबी राईलाई समाउन लागे सक्ने पनि बताए । उनले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि प्रश्नसमेत गरे । उनले सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरेको उल्लेख गरे ।

उनले भने, ‘उहाँहरूलाई त रवि लामिछानेलाई थुन्नुपरेको छ । यसलाई दोषी देखाइदिनु परेको छ । यसलाई डाम्नु परेको छ । सक्नुहुन्न । सक्दै त सक्नुहुन्न । असम्भव । सहकार्य गर्ने हो भने हामी तयार छौँ । के कुरालाई केन्द्रमा राख्ने ? के कुरालाई महत्व दिने ? त्यसमा भर पर्छ ।’

उनले अगाडि भने, ‘म त ठग जस्तो प्रमाणित गर्न खोज्नुभयो उहाँहरूले । नलिएको पैसा पनि लियो भन्नुभयो । निर्देशन दिएको दिएकै छ खोज्नुस् भेटिन्छ भनेर । त्यहाँ जीबी राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री समात्नुभएको होइन उहाँहरूले ? उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरूले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ? तर मलाई राम्रो सँग थाहा छ, त्यो फाइल कहाँसम्म पुग्छ ? त्यो जरो कहाँसम्म हल्लिन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसैले उहाँहरूलाई चाहिएको रवि लामिछानेलाई फसाउन सकिन्छ कि ?  रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर खोजेको हो ।’ सभापति लामिछानेले मिसन २०८४ आफूहरूको लागि भएको बताए । उनले घण्टी चुनाव चिह्न पाउनासाथ चुनाव नजितिने भन्दै असल मान्छेले घण्टी पाए मात्रै चुनाव जित्ने बताए ।