अहिले मन्त्रिपरिषद् पुनर्गठन हुन्न – मन्त्री गुरुङ


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १७ २०८०
2.1K
SHARES

१७ माघ रूपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए । उनले त्यसपछि पनि मन्त्री फेर्नेबारे चर्चा गर्दै आएका छन् ।

मन्त्री गुरुङले भने, ‘सत्तारूढ दलका नेताहरूबीच छलफल गर्दा अहिलेलाई यही ठीक छ । तर, मन्त्रीहरूको पर्फमेन्स चाहिँ देखाउनुपर्छ भन्ने भएको छ । तत्कालका लागि मन्त्री फेरबदल हुँदैन ।’गुरुङले राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘क्रसभोट’ ले गठबन्धनभित्र तरंग ल्याए पनि यसले खासै असर नपार्ने बताए ।‘कोशीमा यसअघि पनि यस्तै भएको थियो,’ मन्त्री गुरुङले भने, ‘गठबन्धन दलभित्र गम्भीर समीक्षा शुरू भएको छ । गठबन्धनमा आशंका जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुन्छ ।’

मन्त्री गुरुङले देशको आर्थिक संकट तंग्रिँदै गएको बताउँदै श्रीलंकाजस्तो अवस्था पुग्ने भनेर गरिएका प्रचार अनावश्यक भएको बताए । कांग्रेसका भ्रातृ संगठन भद्दा र ठूला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने उनले बताए । पार्टीमा गुटगत प्रतिस्पर्धा बढ्दा संगठन भद्दा बन्न पुगेको उनको भनाइ छ ।सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुंगो लगाउने गुरुङले बताए ।