अधिवेशनमा ‘धक्कामुक्का’, कार्यकर्ताको हात भाँचियो


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २१ २०८०
2.5K
SHARES

२१ माघ काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ ।  धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।  जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो ।

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।  एमाले धादिङ  जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो ।  हिजो (शनिबार) बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो ।  बन्दसत्रमा प्रवेश गर्नुअगाडि प्रतिनिधि निक्र्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको देखिएको एमाले नेताहरूले बताएका छन् । त्यति हुदाँहुँदै पनि पटकपटक वार्ता, छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरिएपछि सफल हुन सकेन । परिस्थिति अशान्त र असहज बनेपछि एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले विज्ञप्ति निकालेर जिल्ला अधिवेशन स्थगित भएको बताएका छन् ।

Uml-Dhading-1707019332.jpg