ओली, रविसहितका नेताहरू बालुवाटारमा , के होला सत्ता गठबन्धन ?
२० फागुन काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन् । ओली निकट स्रोतले आइतबार साँझ बालुवाटारमा प्रचण्डसँग छलफल भएको पुष्टि गर्यो । सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ । यसअघि आइतबार बिहान ओली र प्रचण्डबिच भेट भएको थियो । आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेको छ ।राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको छ ।
सोही बुझेर कांग्रेसले टीआरसीको विषयमा अड्को थापिसकेको छ । यस विषयमा छलफलका लागि थप समय चाहिने भन्दै कानुन समितिको बैठकमा थप समय मागेर कांग्रेसले टीआरसी लम्ब्याउने नीति लिएको हो।