माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नयाँ सरकार बनाउने सहमति


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०
4.6K
SHARES

२१ फागुन काठमाडौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत: आजै घोषणा हुने सम्भावना छ ।  राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी र रास्वपासहितको नयाँ गठबन्धन बन्ने स्रोतले ठोकुवा गर्‍यो । दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ ।

बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनधारी दलहरूलाई बोलाएर नयाँ परिस्थिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो ।

आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए ।  ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले बताए ।