सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गरेको आरोपमा बेहुलासहित आठ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २९ २०८०
2.9K
SHARES

२९ फागुन जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश साहसहित आठजनालाई पक्राउ गरेको हो । पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो ।बरमाला विधि भइसकेपछि विवाह मण्डपमा बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेपछि विवाद भएको थियो । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनले पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको बताए ।

बेहुली पक्षका अनुसार बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औठी र हनुमानको माला दाइजो लेनदेन गर्ने सहमतिमा बिहे तय भएको थियो । ती सबै सामान उनलाई बिहे अघि नै दिइसकेको बेहुली पक्षले बताएको छ ।