राय समूहले माओवादीसँग एकता गर्ने औचित्य छैन – भट्टराई पक्ष
३ चैत काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा)काे विवाद फेरि चर्किएकाे छ । अध्यक्ष बाबुराम भट्टराईकाे समर्थनबिना अर्का अध्यक्ष महिन्द्रराय यादवसहितका नेताले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताकाे सहमति गरेका छन् । शनिबार बालुवाटारमा सहमति भएकाे हाे । पार्टी अध्यक्ष भट्टराई पार्टी एकताकाे विपक्षमा रहँदा सहमति गरेपछि उनी निकटका नेताहरूले माओवादीमा प्रवेश गर्न चाहेकाले संवाद गरेकाे आराेप लगाएका छन् ।नेसपाका कार्यालय प्रमुख राेशन पाेखरेलले अहिले पार्टीगतरूपमा माओवादीसँग एकताकाे संवाद नै हुन नसक्ने बताए । भट्टराईबिनाकाे बैठककाे औचित्य नरहेकाे उनकाे भनाइ छ ।
“अध्यक्षबिनाकाे बैठककाे कुनै औचित्य छैन । कसैलाई प्रवेश गर्न ग्रसित मनशायले कुरा गरेका हुन सक्छन् । त्याे स्वतन्त्रता त छ । तर, अहिलेकै अवस्थामा नेपाल समाजवादी पार्टी र माओवादीबीच संवादकाे आवश्यकता पनि छैन,” उनले भने “माओवादी उल्टाे दिशातिर गइरहेकाे छ । पार्टीगत हिसाबमा कुनै संवाद हुँदैन ।”भट्टराईले पार्टीकाे कार्यकारिणी समिति बैठक आइतबार र साेमबारका लागि बाेलाएका छन् । तर, यादव पक्षले बैठक नै नरहेकाे भन्दै विज्ञप्ति जारी गरिसकेकाे छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव छन् ।बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।