ब्याजदर सस्तिएसँगै ऋण लिएर घर बनाउने बढे


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ५ २०८०
2.4K
SHARES

५ चैत काठमाडौं । बैङ्कहरूबाट ऋण लिएर घर बनाउने बढेका छन् । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको सात महिनामा बैङ्क तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ३.५३ गुणा बढी हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार यस्तो कर्जा गत आवको सोही अवधिको तुलनामा २५३.४३ प्रतिशत बढी हो । गत आवको सात महिनामा बैङ्कहरूले ९ अर्ब २० करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । विशेषगरि पछिल्लो समय ब्याजदर घटेको छ । बैङ्कहरूमा पनि लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि घट्दै गएको हो । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागतमा पनि घटेको छ, जसले कर्जाको ब्याजदर पनि सस्तिन थालेको हो । अहिले सहज रूपमा कर्जा प्रवाह हुन थालेपछि नै २ करोडसम्मको व्यक्तिगत घर कर्जा उल्लेख्य बढेको हो ।

गत वर्ष तरलता अभावमा बैङ्कहरूले घर जग्गामा लगानी विस्तार हुन सकिरहेको थिएन । गत वर्ष आर्थिक मन्दी, चर्को ब्याजदर, उच्च महँगीले कर्जा प्रवाह पनि हुन् सकेको थिए । तरलता अभावले कर्जा प्रवाहमा समेत कडाइ गरिएको थियो । तर, अहिले सहज अवस्था छ । राष्ट्र बैङ्कले पनि घर कर्जाको सीमा बढाइदिएको छ, व्यक्तिगत आवासीय घर कर्जाको सीमा २ करोडसम्म पुर्‍याएको छ । यसअघि यस्तो सीमा १ करोड ५० लाख रुपैयाँ मात्र थियो । यस्तो नीतिगत लचकताले पनि घर कर्जा बढ्न पुगेको हो ।

यता, बैङ्क तथा वित्तीय संस्थाहरूले नै घर कर्जा लगानी बढाउन कै लागि विभिन्न स्किम समेत ल्याएका छन् । विशेषगरि सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ । कतिपय बैङ्कहरूले एकल अङ्कको ब्याजदर मै घर कर्जा उपलब्ध गराइरहेका छन् । बैङ्कहरूले १० प्रतिशत कम बिन्दुकै फिक्स ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । सस्तो ब्याजदरमा कर्जा लिएर घर बनाउन (खरिदबिक्री) आकर्षित भएको पाइन्छ ।